काठमाडौं- सिरियल किलर चार्ल्स शोभराज शुक्रबार रिहा हुने भएका छन्। सर्वोच्च अदालतको बुधबार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने भएका हुन्।
केन्द्रीय कारागार प्रशासनले शोभराजलाई फ्रान्स फिर्ता पठाउने गरी शुक्रबार अध्यागमन विभागको जिम्मा लगाउने भएको हो। कारागारले बिहीबार साँझ नै शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेको थियो। छुट्टै ‘डिटेन्सन रुम’को व्यवस्था गर्नुपर्ने कारण देखाउँदै विभागले उनलाई शुक्रबार ल्याउन कारागारलाई भनेको हो।
सर्वोच्च अदालतले उमेर र स्वास्थ्य अवस्था अनि कारागार नियमावलीबमोजिम शोभराजलाई कैद बस्नु पर्ने बाँकी समय अगावै रिहा गरेर फ्रान्स फिर्ता गर्न आदेश दिएको थियो। त्यसकै आधारमा शोभराजविरुद्ध मुद्दा चलेको भक्तपुर अदालतले सर्वोच्चको फैसला कार्यान्वयनका लागि कारागारलाई पत्र पठाएको थियो।
तर, शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि ज्यान मार्ने उद्योग र जाली राहदानीको कसुरका दुई मुद्दा देखिएपछि कारागार व्यवस्थापन विभागले यसबारे आवश्यक निर्णय गरिदिन काठमाडौं अदालतलाई अनुरोध गरेकोमा अदालतले सर्वोच्चको आदेशबमोजिम गर्न भनेपछि रिहाई प्रक्रिया अघि बढेको थियो।
त्यसपछि केन्द्रीय कारागारले जेलमुक्त गरेर शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेपनि प्राविधिक कारण रिहाई शुक्रबारमात्र हुने भएको हो। शोभराजको रिहाइका लागि कानुनी प्रक्रियामा संलग्न गोपाल शिवाकोटीले बिहीबार नै कैदमुक्त हुने भनिए पनि प्राविधिक कारण शुक्रबारलाई सरेको बताए।
अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। सर्वोच्चले शोभराजलाई १५ दिनभित्र प्रक्रिया पूरा गरेर रिहा गर्न आदेश बुधबार नै दिइसकेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation