९ कार्तिक २०८३, आइतबार

अमेरिकामा हिमआँधी, ३४ जनाको मृत्यु

  • १२ पुष २०७९, मङ्गलबार
Image

न्युयोर्क- संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ।  हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो। 

देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन्। पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन भएको छ। अति चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छन्। दशौँ हजार घर बिजुलीविहीन बनेका छन्। बिजुली नभएपछि कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन्।  

न्युयोर्कका गर्भनर क्याथी होचुलले सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गर्दै सवारी साधन सञ्चालनमाथिको प्रतिबन्ध मङ्गलबार बिहानसम्म जारी रहने बताएकी छन्। बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ। मोटरकारहरू हिउँले पुरिएका छन्। 

राष्ट्रिय मौसम विज्ञान विभागका अधिकारीहरूले  सोमबार बिहानसम्म व्यापक हिमपात हुने चेतावनी दिएका छन्। मोटरमा फेसकाहरूको उद्धार गर्न उद्धारकर्तालाई हम्मेहम्मे परेको छ। अधिक चिसोका कारण न्युयोर्कमा दुई जनाले ज्यान गुमाएका तथा बफेलोमा १० जनाको मृत्यु भएको छ। 

गत शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो। ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका गत साताका भयानक दुर्घटना भनेका छन्। क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका थिए। अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो।    -एपी

प्रतिक्रिया

सम्बन्धित खवर