काठमाडौं- काठमाडौं नाइट्सले नेपाल टी-२० लिग क्रिकेटमा जित निकालेको छ। मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको हो।
२०९ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १५५ रन मात्रै बनाएपछि काठमाडौंले सहज जित निकालेको हो।
जनकपुरका लागि सामीउलाह शिनवारीले २९, सन्दीप जोराले २६, पवन सर्राफले २४, शराफुदिन अश्रफले १९ र मोहम्मद आदिल आलमले १६ रन बनाए। बलिङतर्फ काठमाडौंका अज्मुतउल्लाह ओमारजाईले तीन र बासिर अहमदले दुई विकेट लिए। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो।
काठमाडौंका लागि एलेक्स ब्लाकीले ८३ रन बनाए। उनले ४३ बलमा सात छक्का र चार चौका प्रहा गरे। त्यस्तै, भिरन्दिप सिंहले ४९ र ओमारजाईले विष्फोटक ब्याटिङ गर्दै मात्र १५ बलमा ४३ रन बनाए।
बलिङतर्फ पवन सर्राफले दुई विकेट लिए। काठमाडौंको यो दोस्रो जित हो। यसअघि काठमाडौंले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने फार वेष्ट युनाइटेडसँग काठमाडौं चार विकेटले पराजित भएको थियो।
यता, जनकपुरको भने यो पहिलो हार हो। यसअघि जनकपुरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने विराटनगर सुपर किंग्सलाई पाँच विकेटले नै पराजित गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation