९ कार्तिक २०८३, आइतबार

खुमलटारमा ओली र प्रचण्डबीच भेट, के भयो कुराकानी?

  • १३ पुष २०७९, बुधबार
Image

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

“उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उनले भने। प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उनीहरुबीच छलफल भएको मल्लले जानकारी दिए। “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उनले भने।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए। सो बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ।

सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गरेको जानकारी दिँदै उनले सो क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गरेको जानकारी बताए।

प्रतिक्रिया

सम्बन्धित खवर