८ कार्तिक २०८३, शनिबार

बालविवाहका घटना बढ्न थालेपछि काभ्रेमा सडक नाटक अभियान

  • १९ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ।

आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।

त्यसैगरी सोमबार देरालीस्थित शारदा मावि र जनहित महाँकाल माविमा आदि÷इत्यादी नामक संस्थाले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरेका थियो।  बालविवाहलाई न्यूनीकरण गर्न हाल गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा एकहप्ते सडक नाटक अभियान सञ्चालन गरेको हो।

‘बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान थालेका हौँ’, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने। उनका अनुसार अभियानलाई आवश्यकतानुसार निरन्तरता दिने योजना बनाइएको छ।

उक्त गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताए। ‘नाटकमा सानै उमेरमा विवाह गर्दा घर–व्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियान गरिएको छ।’ उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ।

केही महिनाअघि काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लाको दक्षिणी भेगस्थित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा बालविवाहका घटना भइरहेको पाइएको बताएका थिए। ‘हामीले त्यस क्षेत्रको भ्रमणका क्रममा विद्यालयमा कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा ८ मा पुगेपछि बर्सेनि विद्यार्थीको सङ्ख्या न्यून हुने कारण खोज्दा बालविवाह रहेको पाएका थियौँ, अहिले न्यूनीकरणका लागि अभियान चलाइएकामा खुसी लागेको छ’, जोशीले भने। 

बितेका एक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए। विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरुको ‘उमेर’ पुगेको थिएन। देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत पाँच छात्रा र दुई छात्रले उमेर नपुग्दै विवाह गरेका हुन्।

जिल्ला सदरमुकाम धुलिखेलमा अवस्थित उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ती विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटनाक्रमले देखाएको छ। अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन्।

शैक्षिकसत्र २०७८ मा स्थानीय देवीस्थान माविका सात विद्यार्थी ‘बालविवाह’ गरेको धुलिखेल–१ वडाध्यक्ष सन्तबहादुर तामाङले बताए। उनका अनुसार स्कुल अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने हालसम्म कुनै निकायमा उजुरी परेन। उनी बस्तीमा बालविवाह रोक्न अभिभावक, विद्यालय प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकाय सबैको ध्यान जानुपर्ने बताउँछन्।

‘म निर्वाचित भएपछि आफ्नो वडाको वार्षिक योजनामा बालविवाह रोक्ने विभिन्न कार्यक्रम समावेश गरेको छु’, उनले भने। वडाध्यक्ष तामाङले बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बालावस्थामै विवाह हुने गरेको पाइएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर