९ कार्तिक २०८३, आइतबार

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्र

  • १९ पुष २०७९, मङ्गलबार
Image

दैजी- कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ। बेदकोट नगरपालिका-३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक विस्तार भएको छ।

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र सडक विस्तार भएको वडा नं ३ का अध्यक्ष मोहन गुर्धामीले बताए। “दैजीबाट बेदकोट ताल भन्दामाथि सिन्यारी भन्ने ठाउँसम्म कालोपत्र सडक पुगेको छ,” उनले भने, “करिब १०/१२ किलोमिटर सडक कालोपत्र भएको छ।”

विगतमा बेदकोट ताल पुग्नका लागि ग्राभेल सडकको बाटो हिँड्नुपर्ने बाध्यता थियो। पर्यटकीयस्थल बेदकोट ताल कालोपत्र सडक सञ्जालसँग जोडिएपछि आवतजावतमा सहज भएको स्थानीय महेश जोशीले बताए।

“ग्राभेल सडक हुँदा आवागमनमा सास्ती भाग्नु परेको थियो, अहिले कालोपत्र सडक बनेपछि सहजै ओहोरदोहोर गर्न सकिएको छ,” उनले भने, “तालसम्मै गाडी चढेर पुग्न सक्छौँ।”

कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेदकोट ताल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्।

निर्माणाधीन अवस्थामा रहेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने सडक योजना अन्तर्गत बेदकोट तालसम्म सडक सञ्जाल पुगेको छ। बेदकोट तालसम्म सडक सञ्जाल पुगे पनि पछिल्लो समय दैजी-जोगबुढा सडक योजनाको काम सुस्तगतिमा छ।

विसं २०४२ मा निर्माण सुरु भएको दैजी-जोगबुढा सडकखण्ड अझैसम्म पूरा हुनसकेको छैन। यो सडक तराईदेखि सुदूरका पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रुपमा हेरिएको छ।


 

प्रतिक्रिया

सम्बन्धित खवर