९ कार्तिक २०८३, आइतबार

कांग्रेसले भन्‍यो- सत्ता गठबन्धनको आयु छोटिने सम्भावना छ

  • २० पुष २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन्। गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेको उनको भनाइ छ। साथै यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन भएको उनको आरोप थियो।

'अहिलेको गठबन्धन अवसरवादी हो। राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ। त्यहाँ पदमात्र छ। पदको भागवण्डा मिलेको छैन। यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो। गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं,' नेता महतले भनेका छन्।

यस्तै उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए। नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए।

सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए।

नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ। सत्ताबाट बाहिरिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएका हुन्। 

‘प्रतिवद्धताबाट हामी हटेको होइनौं,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस प्रवक्ता डा. महतले भने, ‘प्रचण्डजी हटनुभएको हो।’

उनले तत्कालीन सत्ता गठबन्धन टुटेर प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार गठन गर्दा पनि कांग्रेसले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई प्राथमिकता नदिएको पनि बताए। 

‘वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई हामी प्राथमिकता दिएनौँ। यो अवस्थामा गठबन्धन टुट्नुमा नेपाली कांग्रेस दोषी छैन,’ महतले भने, ‘यद्यपि प्रचण्डजीलाई नेतृत्व दिएर गठबन्धन बचाउनेबारे छलफल गरेर निष्कर्षमा पुग्ने समय हामीलाई प्राप्त भएन।’

प्रतिक्रिया

सम्बन्धित खवर