काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको आयुका विषयमा अन्तर्राष्ट्रिय समुदायबाट त्रसित देखिन्छन्। सरकार सञ्चालनमा सहयोग गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।
उनले नयाँ बनेको सरकारलाई कुनै आशंकाको दृष्टिले नहेर्न छिमेकी र सबै अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेका हुन्। सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै ओलीले यस्तो अनुरोध गरेका हुन्।
उनले यो सरकार नेपाली जनता र यसका प्रतिनिधिले बनाएको यथार्थ बुझ्न सचेत गराएका छन्। 'यो सरकार नेपाली जनताले चुनेर पठाएको संसद्का प्रतिनिधिहरूले चुनेर बनाएको हो,' पूर्वप्रधानमन्त्री ओलीले भने,'हाम्रा सबै अन्तर्राष्ट्रिय मित्रहरूलाई यसको मर्म बुझेर यसप्रति कुनै आशंकाको दृष्टिकोण राख्नुपर्ने छैन भन्न चाहन्छु ।' उनले विदेश नीतिबारे सरकारको कार्यक्रममै आएकाले यसमा सरकारले असल छिमेक सम्बन्ध राख्ने उल्लेख रहेको बताए।
'हामी कसैको विरुद्धमा होइनौं, कसैको अहितमा सोच्दैनौं,' उनले भने, 'सबैसँग मित्रता, कसैसँग छैन शत्रुता। हामी कसैको अहित सोच्दैनौं, सम्बन्ध अझ उच्चस्तरमा पुर्याउँछौं।'
उनले अहिलेको सरकार छिमेकी बाह्य सबै मित्रहरु सँग मिलेर काम गर्ने बताए। 'हाम्रा विकासका प्रयासहरुमा सकारात्मक दृष्टिकोण राख्न र सहयोगको हात बढाउन आग्रह गर्छौं हामी कतैतिर लाग्दैनौं । तटस्थ नीति अबलम्बन गर्छौं,' ओलीले भने।
प्रचण्ड नेतृत्वको सरकार बनेसँगै उत्तरी छिमेकी चीनलाई हतार देखिन्छ। चीनले बीआरआई अघि बढाउन वर्तमान सरकारलाई दबाब दिइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation