९ कार्तिक २०८३, आइतबार

दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, भोलि राष्ट्रिय शोक बिदा

  • १ माघ २०७९, आइतबार
Image

काठमाडौं- आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन भएको छ। 

विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। 

बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले‍ छानबिनका लागि आयोग गठन गरिएको बताए।

'दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव दिने गरी आयोग बनाइएको छ', उनले भने, 'गैरसैनिक हवाई उडान दुर्घटना नियमावली २०४१ अनुसार दुर्घटना जाँच आयोग गठन गरिएको हो।'

उनका अनुसार आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाईविज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्। 

आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव  बुद्धिसागर लामिछाने रहेका छन्। यो आयोगलाई ४५ दिनको समय दिइएको छ।

विमान दुर्घटनाबारे थप बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाँदैछन्।

यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।

'यो घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। निधन भएकाहरुप्रति समवेदना', उनले बैठकपछि भने, 'भोलि (माघ २ गते) एक दिन शोकको घटनाका सन्दर्भमा शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।'

पौडेलले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको बताए।  उनले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर