काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने बताएकी छिन्।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्। उनले सार्वजनिक संघ, संस्थानहरूलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन्।
उनले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन्। मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिइन्।
उनले सबै कामहरू प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने बताइन् । ‘सहज सुलभ हुने कुरा भयो। समस्यालाई समाधान गर्ने गरेर गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरू सूचना प्रविधिमार्फत हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ,’ उनले भनिन्।
उनले सार्वजनिक संस्थानहरूमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ती सबैलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन्। उनले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि स्पष्ट पारिन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation