९ कार्तिक २०८३, आइतबार

'गठबन्धन पुन:स्थापित गर्ने संकल्प पूरा गरियो, सरकारमा मेरो दाबी छैन'

  • १६ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जाने आफ्नो दाबी नरहेको प्रष्टीकरण दिएका छन्। सोमबार राति ट्वीट गर्दै उपसभापति खड्काले पुस १० गते भत्काइएको गठबन्धन पुनःस्थापित गर्ने संकल्प पूरा गरेको र अब आफ्नो दाबी कुनै कुरामा पनि नरहेको प्रष्टीकरण दिएका हुन्। 

उनले सरकारमा दाबी गरेको भनेर आफूलाई अन्याय नगर्न आग्रह गरेका छन्। ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन’, खड्काले भनेका छन्, ‘मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस्।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजभोलिमै नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन्। नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी थालेका हुन्।

सचिवालय बैठकले सोमबार मात्रै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेपछि नेकपा एमालेबाट मन्त्री बनेका आठ जनाले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाइसकेका छन्। 

नेपाली कांग्रेस पनि प्रचण्ड सरकारमा सहभागी हुन तयार भइसकेको छ। मन्त्री बन्न कांग्रेस नेताहरूले दौडधुप बढाएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर