९ कार्तिक २०८३, आइतबार

बैंक तथा फाइनान्सले घटाए ब्याजदर

  • ३० फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्श संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो।

बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन्। भोलि चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए।

संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको उनले बताए। हाल बैंकहरूले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्।

यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो। मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्।

यस्तैगरी संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ। यस्तै विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्श एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म घटाएको छ।

संघको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ। त्यस्तै एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको। हाल विकास बैंकहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए।

यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन्। त्यसैगरी नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएको छ।

संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत घटाउने निर्णय गरेको छ। फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर कायम गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर