काठमाडौं- नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट वितरण भएको आरोप लगाएका हुन्।
उनीहरुले पुनः सबैको सहमति र सहकार्यमा पुनः टिकट वितरण गरिनुपर्ने माग गरेका छन्। पत्रकार सम्मेलनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाहीले स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै देश भर विरोध गर्ने चेतावनी दिए।
उनले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनलाई प्राइभेट लिमिटेडमा रुपान्तरण गरेको आरोप लगाए। उनीहरुले केन्द्रबाट नेविसंघको पृष्टभूमि नै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए।
उनीहरुले केन्द्रबाट भएको अपारदर्शी टिकट वितरण, विभिन्न जिल्ला र क्याम्पसहरुमा भइरहेको पत्र वितरण कार्य सात दिनभित्र सच्याउन माग गरेका छन्। आफूहरुको माग सुनुवाई नभए चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ।
विद्यार्थी नेताहरुले आफूहरुको माग पूरा नभए रिले अनसन, आमरण अनसन हुँदै आत्मदाह गर्नेसम्मको चेतावनी दिएका छन्। नेविसंघ काठमाडौंका नेताहरुले यसअघि नै संगठनको केन्द्रीय कार्यालय र काठमाडौं कांग्रेस कार्यालयमा तालाबन्दी गरिसकेका छन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation