काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।
एमालेको पक्षमा छैनौं भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री बनाएको ओलीको जिकिर छ। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने दाबी गरे।
देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने उनको तर्क छ। दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो। उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दाबीसमेत गरे।
‘आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य, देशको निम्ति काम गर्ने एमालेको उद्देश्य, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा अहिलेको हेर्नुस् त मन्त्री, ओ हो हो! केका मन्त्री हुन्, कस्ता मन्त्री हुन? कस्तो गठबन्धन हो? यस्ता कुराहरूबाट हामी देश बनाउन सक्दैनौं,’ उनले भने,‘अहिले एमालेविरूद्ध बोल्नेहरू मन्त्री भए। जान्नुसान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन, एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न योग्यता पुग्छ।’
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरूले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए। उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेकाले देशव्यापी रूपमा ग्रासरूट अभियान चलाएको स्पष्ट पारे। आफूहरू अब गठजोडको पक्षमा नलाग्ने पनि उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation