काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ।
पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए।
‘पूर्वमा कोशी प्रदेश नामकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ,' महराले भने, 'पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ।'
माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको महराको भनाइ छ। नामकरणविरुद्ध पहिचान पक्षधरको आन्दोलनको क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको पनि महराले जानकारी दिए।
'आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ। छानबिन भइरहेको छ। के कसरी भएको हो भन्ने सरकारले गर्छ। हामीचाहिँ शहीद घोषणा गर्नुपर्छ र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ,' महराले भने।
बैठकले मिटरब्याजी पीडितहरूको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनी निर्णय गरेको छ। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीबारसम्म पूर्णता पाउने पनि बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation