काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन्।
‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ अध्यक्ष ओलीले भनेका छन्– ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन।’
अध्यक्ष ओलीले तनहुँ, बारा र चितवनमा एमालेले योग्य उम्मेदवार उठाएको बताउँदै उनीहरूलाई विजयी गराउन मतदाताहरूसमक्ष आग्रह गरेका छन्।
उनले भनेका छन्– ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ । तपाईँहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरू समक्ष म विनम्र आग्रह गर्दछु।’
उनले स्वास्थ्य अवस्था ठिक भएपछि उपयुक्त समयमा मतदाताहरूसँग भेट्न आउने बताउँदै तीनै जना उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation