काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका हुन्। कांग्रेस संसदीय दलका नेता चौधरीले ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन्।
उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ।
कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन् । साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक र एक स्वतन्त्र सदस्य छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation