८ कार्तिक २०८३, शनिबार

टोपबहादुरका छोरालाई अदालतमा पेस गरिँदै

  • २१ वैशाख २०८०, बिहिबार
Image

काठमाडौं- बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा सन्दीप बुधबार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौं ल्याएर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने जनाएको छ। बुधबार मात्रै नेता रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। सोही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन छन्।

अहिलेसम्म उनी पक्राउ नपरेको र खोजी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ। बुधबार टोपबहादुरले भैरहवाबाट काठमाडौं आउन टिकट काटेका थिए। उनी सभामुख देवराज घिमिरेसँग बुधबार नै काठमाडौं आउने तयारीमा थिए। तर काठमाडौं झरेलगत्तै प्रहरीले पक्राउ गर्ने तयारीबारे सूचना पाएपछि उनी सम्पर्कविहीन भएका हुन्।

यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर