काठमाडौं- बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका-३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भएर हाल प्राविधिक परीक्षण सुरु गरिएको छ।
जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए। उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ। केबुलकारको आधार स्टेसन बुटवलको वडा नम्बर ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ।
केवलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ। केवलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन्। साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ।
व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब पाँच अर्ब रुपैयाँ लगानी भएको छ। जसमा केवलकार, क्यासिनोसहितको एक सय ५० कोठाको पाँच तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ। वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केवलकार निर्माण गरिएको हो।
केवलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ। केवलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation