काठमाडौं- नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो। खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो। हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो।
त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौं, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो। खेलमा पहिलो सेट उज्वेकिस्तानले २५-२० ले आफ्नो पक्षमा पार्यो। त्यसपछि नेपालले खेलको दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्कियो। यसैगरी खेलको तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले जित्यो।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation