८ कार्तिक २०८३, शनिबार

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

  • १५ असार २०८०, शुक्रबार
Image

काठमाडौं- पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। शुक्रबार बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।

चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ। पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार पहिरो झरेर पहाड बनेको र पन्छाउन छ-सात घण्टा लाग्नेछ।

'दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,' तामाङले भने । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउन डोजर तयारी अवस्थामा राखिएको छ। सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्।

काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शुक्रबार यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर