काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका राम्रो कामको दुष्प्रचार गरेर दिग्भ्रमित गर्ने काम गर्न नहुने बताएका छन्। अन्तर प्रदेश मुख्यमन्त्री बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रा कामको दुष्प्रचार गर्न नहुने बताएका हुन्।
आफू प्रधानमन्त्री भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन भएको र ललितानिवासको फाइल खोलेको विषय उल्लेख गरेपछि प्रधानमन्त्री प्रचण्डले राम्रा कामको प्रचार हुनुपर्ने बताएका हुन्।
संघ प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउन अन्तर प्रदेश मुख्यमन्त्री बैठक फलदायी हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे। कर्मचारी समायोजन सकिएको, ८० वटा कानुन बनेको र केही बन्न बाँकी रहेको, निजामती कर्मचारी र प्रहरी ऐन छिट्टै बन्ने प्रधानमन्त्री प्रचण्डले बताए।
संघीयता कार्यान्वयनका लागि समस्या बनेका शिक्षा, निजामती ऐनजस्ता कानुन बनाउने काम सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। राजनीतिक संक्रमण अन्त्य भएकाले विकास-निर्माणमा ढिलाइ गर्ने छुट अब कसैलाई नभएको उनले बताए।
आफ्नो हालैको भारत भ्रमणले नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्ने वाचा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएको प्रधानमन्त्री प्रचण्डले बताए । मोदीले त्यसरी पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको दाबी थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation