९ कार्तिक २०८३, आइतबार

शंखरापुरमा हिलोमा पीच छरेर बजेट पचाउनेविरुद्ध कांग्रेस नेताहरु उत्रिएपछि...

  • १८ असार २०८०, सोमबार
Image

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिकामा बजेट सक्‍ने रणनीति अन्तर्गत सडकमा थुप्रिएको हिलोमा पिच ओछ्याउने कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेताहरुले विरोध गरेपछि उक्त काम रोकिएको छ। 

शंखरापुर १ कांग्रेस नेताहरुले खबरदारी गरेपछि झरी परिरहेको समयमा हिलोमा पिच ओछ्याएर काम टार्ने र बजेट कुम्ल्याउने योजना विफल भएको छ। नगरपालिकाले वर्षा भइरहेको समयमा जबर्जस्ती गरिएको पिच एकैछिनमा उप्किएको थियो। 

२०८० असार १६ गते शंखरापुर नगरपालिका १ अन्तर्गत पर्ने साँखु-मेलम्ची सडक मार्गमा बिहानदेखि नै लगातार झरी परिरहेको थियो। उक्त झरीमा नै नगरपालिकाले पिच ओछ्याएको हो।

उक्त काम देखेपछि कांग्रेसका स्थानीय नेताहरु राम बहादुर तामाङ र विजय तामाङले उक्त काम रोक्न नगरपालिकाबाट खटिएका कामदारहरुलाई आग्रह गरेका थिए। यद्पि उनीहरुले भने माथिको आदेश हो, काम गर्नैपर्छ भन्‍ने जवाफ दिएर जरबजस्ती हिलोमा पिच छरिएको थियो। 

उनीहरुले यस विषयमा नगरपालिका र सडक विभागलाई नै खबरदारी गरेपछि झरीमा छरिएको अलकत्रा उप्काएर फेरि पिच गराइएको छ। कांग्रेस नेता रामबहादुर तामाङले भने, 'यहाँ सबै खेतबारीमा काममा भएको मौकामा आएर असारे विकास र बजेट सक्‍नका लागि हिलोमा अलकत्रा छरेर काम गरेकोजस्तो देखाउने र बजेट कुम्ल्याउने काम हुन लागेको थियो। यसलाई हामीले रोकेपछि पुन: पिच गरिएको छ।' 

कांग्रेसका स्थानीय युवाहरु राम, सोम र विजयलगायतले हिलोमा पिच छर्ने काम रोक्‍न सडक नै अवरोध गरेका थिए। उक्त अवरोधपछि डोजर ल्याएर हिलोमा छरिएको पिच निकालेर फेरि सुरुदेखि पिच गरिएको छ। यद्पि स्थानीय सरकार भने यसबारेमा अझै मौन देखिन्छ। 

प्रतिक्रिया

सम्बन्धित खवर