काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई योजनाबद्धरुपमा नाम मुछेको पाइएको छ। यसअघि नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित बन्दै सार्वजनिक भएको टेलिफोन संवादमा आरजु र मञ्जुलाई पैसा दिएको आरोप लगाइएको थियो।
नेपाली कांग्रेसकी नेतृद्वय आरजु र मञ्जुलाई 'साढे दुई करोड र ६ करोड रकम लिएको' आरोप लगाउँदै अडियो बनाइएको थियो। उक्त अडियो सार्वजनिक भएपछि कांग्रेस सांसदसमेत रहेकी आरजुले आफू त्यस्तो कुनै गतिविधिमा संलग्न नभएको भन्दै अडियो 'एनिमेटेड' भएको भन्दै उजुरी दिएकी थिइन्।
उक्त उजुरीमाथि अनुसन्धान गर्ने क्रममा सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरी नायब उपरीक्षक कुवेर कडायतले जानकारी दिएका छन्। शर्मा हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। उनले यसअघि नै अडियोको आवाज आफ्नो भए पनि जाहेरवालाको योजना अनुसार नै आरजु र मञ्जुको नाम लिएपछि जोगिनका लागि नाम लिएको स्वीकार गरेका हुन्। यद्पि अडियोमा पैसा दिएको भन्ने आवाज भएका शर्माले आफूलाई जोगाउने आश देखाएर उक्त अडियो बनाउन लगाएको स्वीकार गरेका छन्।
उनले आफूलाई गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले योजना बनाएर उक्त अडियो बनाउन लगाएको स्वीकार गर्दै आरजु र मञ्जुलाई पैसा दिएको भनिएको कुरामा वास्तविकता नभएको बताएका छन्।
उनले भनेका छन्, 'जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारिसके। निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं। सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनि जानकारी गराइदिनु भयो भने बाच्छौं भनि पहिले नै भनेका थिए,’ उनले भनेका छन्, ‘त्यही अनुसार मैले फोन गरेको हुँ। पहिले नै उनीहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनु भनेर मज्जु खाणकोसमेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो।’
उनले आरजु र मञ्जुलाई आफूले चिन्दै नचिन्ने भएकोले यति धेरै रकम नगदै बिना काम दिने कुरै नभएको पनि बयानमा बताएका छन्। उनले थप भनेका छन्, 'उक्त कुरा वास्तविक होईन, जाहेरवालाहरुले भन्नु भने अनुसार मात्र भनेको हुँ, मैले निजहरुलाई चिनेको छैन, चिन्दै नचिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदै बिना दिने कुरै भएन।'

© Lok Kalam . Designed and Developed by Goldenmud Creation