काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
आज (बुधबार) बिहानसम्म कोशी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको छ। कोशी तथा मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation