काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरुको व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा धम्की आएको बताए। दरबन्दीबाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको भन्दै उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन थालेको बताए।
“मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो। स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौँ,” उनले भने, “थिति बसाल्छौँ। संविधानलाई कार्यान्वयन गछौं । आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पुर्याएर नै छोड्छौँ।”
दरबन्दीअनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने भन्दै उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेरै छाड्ने प्रतिवद्धता जनाए। स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्याउने बताए।
स्वास्थ्य मन्त्रालयमा ८०० डाक्टरहरु काजमा बसेको भन्दै त्यसमा दरबन्दीअनुसारको क्षेत्रमा पठाउने काम गर्ने उनले बताए। ८०० डाक्टरको दरबन्दीअनुसारको क्षेत्रमा पठाउन सकिएन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको उनको भनाइ छ। कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै उनले यसलाई अप्रेसन गर्नुपर्ने बताए।
“कर्मचारी व्यवस्थापनमा कडाइका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्न सक्ने अवस्था छैन। अब चल्नेवाला छैन,” उनले भने, “कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ।”
उनले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । दरबन्दीअनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्मका विषयहरु आएको उनको भनाइ छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation