काठमाडौं- नेपाल प्रेस युनियन गुल्मीको नवौं अधिवेशनमा केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्न खोजेपछि दुई तिहाइ सदस्यद्वारा अधिवेशन बहिष्कार गरिएको छ।
केन्द्रीय अध्यक्ष शिव लम्साल सहित जिल्लाका अन्य केही नेता तथा पत्रकार एकलौटी ढंगले अघि बढेर मतदान नगराउने भन्दै हस्तक्षेप गरेपछि अधिवेशनमा लफडा हुनुका साथै तत्कालका लागि स्थगित समेत भएको छ।
आज एकलौटी ढंगले आफू अनुकुल पदाधिकारी तोके पछि विवाद अझ धेरै चर्किएको प्रेस युनियनका एक सदस्यले बताए।
पदाधिकारीमा बस्नै नचाहेकालाई जबर्जस्ती पदाधिकारीमा राखी १९ सदस्यीय कार्य समिति गठन गरिएको छ। जुन आपत्तिजनक रहेको प्रेस युनियन गुल्मीका सन्तोष महताराले बताए।
रेशम कुवर अध्यक्ष रहने गरि गठित १९ सदस्यीय कार्यसमिति विरुद्ध प्रेस युनियन गुल्मीका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेको बताएका छन्।
जम्मा ५९ जना सदस्य रहेको गुल्मीमा ३८ जना सदस्यले हस्ताक्षर सहित अधिवेशन बहिस्कार गर्दै तत्काललाई स्थगित गर्न माग गरेका हुन्।
बहुमतको कदर नहुने गरि एकलौटी ढङ्गले अघि बढे संगठन दुर्घटनामा जान सक्ने चेतावनीसमेत उनीहरुले दिएका छन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation