काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो।
सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ। प्रधानमन्त्री प्रचण्ड आजै साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।
अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन्।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation