काठमाडौं- बुधबारदेखि अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षामन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन्।
आज बिहान गृहमन्त्रीकै पहलमा शिक्षकहरुसँग पहिलो चरणको वार्ता भएको थियो। उक्त वार्ताका क्रममा शिक्षकहरुले आफ्नो अडान राखेका थिए। उनीहरुले वार्ता उच्चस्तरमा गर्ने र शिक्षामन्त्रीसँग नगर्ने अडान राखेका थिए।
शिक्षामन्त्री अशोक राईले आफूहरुका माग सम्बोधन नगर्ने शिक्षकहरुको अडानपछि उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा वार्ताको जिम्मेवारी दिइएको खड्काले जानकारी गराए।
“उपप्रधानमन्त्रीसँग वार्ता गरिसकेपछि अब मन्त्रीसँग वार्ता हुँदैन भन्नुभयो,” खड्काले भने, “त्यसपछि मैले नै प्रधानमन्त्रीसँग कुरा राखे र वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाउनुभएको छ।” उनले अबको वार्ता श्रेष्ठकै नेतृत्वमा हुने जानकारी दिए।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै कतिपय मागहरु पुरा गर्न कुनै समस्या नै नरहेको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation