काठमाडौं- सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन्। राहत शिक्षकका माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राख्नेसमेत बताएका छन्।
गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नहुने भएपछि नेपाल राहत शिक्षक संघतर्फका प्रतिनिधि बीचमै बैठक छाडेर बाहिरिएका थिए।
‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो। हाम्रो सहमति छैन। राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ,’ राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने । शिक्षक महासंघबाट अलग भएर राहत शिक्षकले आन्दोलन जारी राख्ने उनले बताए।
'माइतीघर मण्डलामा भोलि भेला हुन्छौँ । ४० हजार शिक्षक आक्रामक रूपमा उत्रिन्छौँ । शिक्षक महासंघबाट राजीनामा दिने कुरा भएको छ,' राहत शिक्षकका महासचिव कुमार बजगाईंले भने।
उनले ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको भन्दै आक्रोश पोखे। ४५ हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग भएपनि यो पुरा हुन नसकेको उनले बताए। सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation