९ कार्तिक २०८३, आइतबार

संसद्‌मा ओलीद्वारा सरकारको आलोचना

  • १६ असोज २०८०, मङ्गलबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन्।

उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताए।


रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए। उता पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए। 

‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’

त्यसैगरी एमाले अध्यक्ष ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन्। गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ।

मंगलबार प्रतनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले गृहमन्त्रीले सोमबार हेटौंडामा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्। ‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो। सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर,’ उनले भने, ‘कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’

‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ। १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ। छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ। छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ? किन आत्तिनु भएको स्वतन्त्र निश्पक्ष छानबिनसँग ?’

उनले गृहमन्त्रीमाथि थप प्रश्न गरे, ‘एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पक्राउ पर्यो, गन्तव्यसम्म पछ्याएर गएर सबै समाउन किन सकिएन ?’


‘एक क्विन्टल सुन पक्राउ पर्यो। त्यो ओसार्ने ट्याक्सी ड्राइभर, मेरो सामान हो भनेर बुझ्ने मान्छे, भरिया नै होला, त्यसलाई अलि परतिर पुर्याएर आवश्यक परेको बखत हाजिर हुनेछु भन्ने कागज गराएर मान्छे भगाउ, समान लगाउ, छिटो गर, जाउ भनेर पठाइयो। नत्र किन पठाएको ?’

प्रमाणपत्रमा शंका लाग्यो भनेर सांसद सुनिल शर्मालाई थुनेको सरकारले एक क्विन्टल सुन तस्करी गर्नेलाई छाडेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘म गृहमन्त्रीजीलाई सोध्न चाहन्छु, यही हो सुशासनको अभियान ?’

प्रतिक्रिया

सम्बन्धित खवर