काठमाडौं- प्रदेश सरकारले एक वर्षको कार्य प्रगति सुखद
बताइरहँदा बजेट खर्च अवस्था भने निराशाजनक देखिएको छ।
प्रदेश सरकारले माघ २७ गते आफ्नो कार्य प्रगति सार्वजनिक
गरेको थियो । तर चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्म ५० प्रतिशत बजेट खर्च
गरिसक्नुपर्नेमा १३ दशमलव १९ प्रतिशत मात्रै खर्च गरेको पाइएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको
प्रदेश सरकारले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेको छ ।पछिल्लो छ महिनाको बजेट
खर्चको प्रगति १४ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब
२४ करोड ५२ लाख ५० हजार बजेट विनियोजन गरेको छ । चालुतर्फ ११ अर्ब ९३ करोड ९० हजार
र पुँजीगततर्फ १७ अर्ब १ करोड ५१ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले ६
महिनामा जम्मा ३ अर्ब ८५ करोड ८३ लाख ५३ हजार ३७९ रुपैयाँ खर्च गरेको छ । चालुतर्फ
२ अर्ब ३१ करोड ४५ लाख ३३ हजार ११ रुपैयाँ र पुँजीगत अर्थात् विकास तर्फ १ अर्ब ५४
करोड ३८ लाख २० हजार ३६७ रुपैयाँ मात्र खर्च भएको पाइएको हो । चालुतर्फ १९ दशमलव
४० प्रतिशत खर्च हुँदा विकासतर्फ भने ९ दशमलव ७ प्रतिशत मात्रै खर्च देखिएको छ ।
विषयगत मन्त्रालय र अन्य निकायहरूले खर्च गर्न नसक्दा समग्र
खर्च न्यून देखिएको हो । प्रदेश व्यवस्थापिका अर्थात् प्रदेश सभा सचिवालयले चालु
आर्थिक वर्षको ६ महिनामा २५ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ भने प्रदेश लोक
सेवा आयोगले २६ दशमलव ३९ प्रतिशत बजेट खर्च गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४ दशमलव १९ र
आर्थिक मामिला मन्त्रालयले ४ दशमलव ८१ बजेट खर्च गरेको छ । उद्योग पर्यटन वन तथा
वातावरण मन्त्रालयले चालुतर्फ २४ दशमलव ७४ प्रतिशत बजेट खर्च गर्दा पुँजीगत खर्च
केवल ४ दशमलव ५३ प्रतिशत मात्रै देखिएको छ । पर्यटन मन्त्रालयले कुल बजेटको १६
दशमलव ९७ प्रतिशत खर्च गर्न सकेको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु बजेट ११
दशमलव ३६ र विकास बजेट ११ दशमलव ८१ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले कूल बजेटको
११ दशमलव ४३ प्रतिशत खर्च गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालुतर्फ १९ दशमलव ६९
प्रतिशत र पुँजीगततर्फ १४ दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ । आन्तरिक मामिला
मन्त्रालयले कुल बजेटको १६ दशमलव २३ प्रतिशत मात्रै खर्च गरेको देखिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ३०
दशमलव ६३ प्रतिशत र पुँजीगततर्फ १० दशमलव २२ प्रतिशतसहित कुल बजेटको ११ दशमलव २
प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सामाजिक विकास
मन्त्रालयको चालुतर्फ २० दशमलव ६२ र पुँजीगततर्फ १२ दशमलव १३ प्रतिशतसहित कुल
बजेटको केबल १८ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको छ।
प्रदेश योजना आयोगले चालुतर्फ २१ दशमलव ९५ र पुँजीगततर्फ ४
दशमलव १७ प्रतिशत खर्च गरेको छ । प्रदेश योजना आयोगले कुल बजेटको २१ दशमलव २५
प्रतिशत खर्च गरेको पाइएको छ । तलब भत्तामा हुने खर्चभन्दा विकास योजनाको खर्च
निकै कम देखिएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation