काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । यस्तै, बैठकले पूर्वसांसदहरू जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे। तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए। सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।
नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदबारे सभामुख सापकोटाले सूचना टाँस नगरेको भन्दै लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation