काठमाडौं - ललितपुरको सुनाकोटीमा रहेको एक कम्पनीले सडेगलेका पाउराेटी तथा कुकिजबाट नयाँ खाद्य बस्तु बनाएर बिक्री गर्ने गरेको पाइएको छ।
सुनाकोटीमा रहेको श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.ले सडेगलेका पाउरोटी, कुकिज तथा बिस्कुटबाट पुन: खाद्य बस्तु उत्पादन गरी बिक्री गर्ने गरेको पाइएको हो। उक्त कम्पनीलाई महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले आज सिल गरेको छ।
महाशाखाका अनुसार उक्त अवैध कम्पनी यस अघि अखाद्य मह उत्पादन गर्ने 'स्पर्श मह' का मालिक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ घर भई काठमाडौं ज्याठामा बस्ने नरबहादुर श्रेष्ठले नै सञ्चालन गरेको खुलेको छ। श्रेष्ठलाई गत माघ ६ गते गुणस्तरहीन मह उत्पादन गरेको अभियोगमा महाशाखाले पक्राउ गरी कारबाहीका लागि विभागमा पठाइएको छ।
उनले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि. र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.का नाममा अनुमति समेत नलिई ३ वर्ष देखि म्याद नाघेका र बजारमा बिक्री बितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरूलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरू बनाई बिक्री गरिरहेको महाशाखाले जनाएको छ।

यस्तै म्याद नाघेका कुकिजहरूबाट पुनः बटर चकलेट, काजु कुकिज बनाउने तथा सडेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याएको पाइएको महाशाखाले जनाएको छ।
श्रेष्ठको कम्पनीबाट बरामद गरिएका भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, इष्ट ४५ कार्टुन, सोसा सस ६ कार्टुन, चिउरा ३८ बोरा, चकलेट पाउडर ४० बोरा, टेम्पर २० कार्टुन, एसिड ७ ड्रम, क्रप्टर पाउडर ७ कार्टुन बरामद गरि नष्ट गरिएको महाशाखाले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation