८ कार्तिक २०८३, शनिबार

व्यापार घाटा १० खर्ब नाघ्यो, ७ महिनामै साढे ११ खर्बको आयात

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ।  सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ। 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालको कूल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो । विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयात व्यापार ४२.७८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको निर्यात व्यापार ८८.३० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

नेपालको व्यापारघाटा समेत ३८.४५ प्रतिशतले बढेको विभागले जनाएको छ। यसअनुसार नेपालको कुल व्यापारघाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रहेको छ। गत आवको यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो। 

 

प्रतिक्रिया

सम्बन्धित खवर