काठमाडौं - उदयपुरमा एक वडाध्यक्षले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले त्रियुगा नगरपालिका–५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरी बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा उक्त घट्ना भएको हो। स १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले ठक्कर दिँदा मृतक चौधरी सडकबाट एक सय मिटर तल उछिट्टिएका थिए।
मोटरसाइकल सडक किरानाको विद्युतको पोलसमेत क्षतिग्रस्त बनाएको छ। दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ।
मृतक चौधरीको सडक किनारामा घर भएकाले राति पिसाब फेर्न बाहिर निस्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट कदमा खण्डको सडक बिहान तीन घन्टा अवरुद्ध बनाए। सर्वपक्षीय छलफलले मृतकलाई कानुनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ। चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation