८ कार्तिक २०८३, शनिबार

एमसीसीबारे छलफल गर्न जसपाको निर्णायक बैठक बस्दै

  • १४ फागुन २०७८, शनिबार
Image

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) ले एमसीसीबारे टुंगो लगाउन निर्णायक बैठक बस्दैछ। जसपाले एमसीसीको पक्ष वा विपक्षमा उभिने भन्नेबारे शनिबारको बैठकबाट निष्कर्ष निकाल्ने बताइएको छ।

तीन महिनापछि शुक्रबार बसेको केन्द्रीय कार्यकारणी समीतिको बैठकले शनिबार एमसीसीबारे छलफल गर्ने भएको हो। ग्वार्कोस्थित एक होटलमा बसेको जसपाको बैठकमा ३४ जना कार्यकारणी सदस्यमध्ये दुई जना उपस्थित थिएनन्।

जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन। यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष एमसीसी पास गराउनु पर्ने भन्दै खुलेर लागेका छन्। सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भने यस विषयमा मौन छन्।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार शुक्रबार दिउँसो ४ बजे बसेको बैठक २ घन्टासम्म चलेको थियो। सुरुमा भट्टराई र यादव पक्षका नेताहरूबिच मतभेद भएको थियो। मतभेद राखे पनि बैठक सामान्य ढंगले चलेको खतिवडाले बताए।

तर बाहिर हल्ला भए जति नेतृत्वबीच मतभेद नदेखिएको खतिवडाले बताए। ‘मिडियामा भनिए जस्तो ठूलो विवाद छैन,’ उनले भने, ‘बैठकको पहिलो दिन अनुशासित ढंगले नै सम्पन्न भयो, अरु दिन एजेन्डामा व्यापक छलफल हुन्छ।’

बैठकको पहिलो दिन स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको पद तथा नाम र कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली लगायत ११ वटा बुँदाको एजेन्डा तय गरिएको थियो।

जसमध्ये स्थानीय निर्वाचनको तयारी गर्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय शुक्रबारको बैठकले गरेको थियो। शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल हुने खतिवडाले बताए।

बैठकमा उपस्थित कार्यकारिणी सदस्यलाई एमसीसीको सम्झौता पत्र अध्ययन गर्न समेत दिइएको छ। शनिबार बैठकको मुख्य एजेन्डा एमसीसी नै हुने उनले जानकारी दिए। ‘भोलि नै एमसीसीको पक्ष या विपक्ष हुने कुराको टुंगो लाग्छ’, खतिवडाले बताए।

यस्तै शनिबारको बैठकले अरु थुप्रै एजेन्डाबारे निष्कर्ष निकाल्ने पनि बताइएको छ। बैठक अरु तीन/चार दिन लम्बिन सक्ने उनले बताए। बैठकमा सामूहिक र समावेशी प्रणालीको मुद्दाबारे छलफल गर्न ऐजेन्डा राख्ने विषयमा भट्टराई र यादवबीच केही असमति भएको एक जना कार्यकारिणी सदस्यले सुनाए।

प्रतिक्रिया

सम्बन्धित खवर