किभ- युक्रेनमा रुसी आक्रमणको तेस्रो दिन युक्रेन सरकारले राजधानी किभका चोकहरूमा संघर्ष जारी रहेको बताएको छ। रुसी सैनिकहरू किभ नजिकै आइपुग्दा बिहानबाटै किभका विभिन्न ठाउँबाट विस्फोटनका विवरणहरू प्राप्त भएका छन्।
केही आवासीय क्षेत्रहरू पनि आक्रमणमा परेका छन्।
राजधानीतर्फ केन्द्रित हुँदै गरेका रुसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ।
युक्रेनी राष्ट्रपतिले युक्रेन छोडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव अस्वीकार गर्दे हतियारसहित आफैं सडकमा निस्किएका छन्। उनले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्याएका छन्।
युक्रेनले सम्भावित सबै उपाय अवलम्बन गरेर रुसी सैनिकहरूको प्रतिकार जसरी सकिन्छ त्यसरी गर्न किभवासीलाई आग्रह गरेको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन्। त्यस्तो अफवाहलाई निस्तेज पार्न उनी किभका सडकमा आफैं गएर त्यो सन्देश दिएका हुन्।
सडकमा निस्किएका युक्रेनका राष्ट्रपति
उनले भने, 'मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्। म यहीँ सडकमा छु। हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ।'
उनको उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले थपे, 'लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,' अमेरिकी समाचारसंस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इंगित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।
द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation