९ कार्तिक २०८३, आइतबार

रुसलाई स्वीफ्ट प्रणालीमा प्रतिबन्ध, हवाई क्षेत्र पनि सीमित

  • १५ फागुन २०७८, आइतबार
Image

किभ- लगातार चौथो दिन पनि युक्रेनमाथिको आक्रमणलाई निरन्तरता दिएपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको दबाब बढ्दै गएको छ। रुसले भने आक्रमणबाट पछि हट्ने कुनै संकेत गरेको छैन।

युक्रेनमा मार्सल कानुन लागु भएको छ। यो कानुन अनुसार १८ देखि ६० वर्ष उमेरका पुरुषहरुले देश छोड्न पाउँदैनन्। महिला तथा बालबालिकाहरु हिँडेर पोल्याण्डसहितका देशमा ज्यान जोगाउनका लागि गएका छन्। धेरै देशले युक्रेनलाई साथ दिएका छन्। रुसमाथि दण्डात्मक नियम लागु गरेका छन्।

पछिल्लोपटक पश्चिमा देशहरुले रुसका प्रमुख बैंकलाई स्वीफ्ट प्रणालीबाट हटाउने घोषणा गरेका छन्। स्वीफ्ट बैंकिङ सञ्चार प्रणाली हो।

यसले पैसा ट्रान्सफर सहज बनाउने गरेको छ। स्वीफ्ट प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउँदा भ्लादिमिर पुटिनमाथि गम्भीर दबाब हुने आँकलन छ।

यस्तै पश्चिमा देशहरुले रुसको केन्द्रीय बैंकलाई प्रतिबन्धबाट बच्न नदिनका लागि व्यवस्था गर्ने, धनाढ्य रुसीहरुलाई अरु देशको नागरिकता पाउनबाट रोक्ने तथा वित्तिय प्रणालीको पहुँचबाट टाढा राख्नेसहितका नियम लागु गर्ने भएका हुन्।

यसैबीच रुसी विमानहरुको हवाई मार्ग सीमित हुने क्रम पनि जारी छ। लात्भिया, इस्टोनिया र लिथुवानियासहितका बाल्टिक राष्ट्रले रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

बेलायत, जर्मनीसहितका अरु देशले यसअघि नै रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्धित गरेका थिए। रुसले पनि जवाफमा त्यस्तै नियम लागु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर