मस्को- रुसी सैनिकले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
खेर्सन जारी युद्धमा रुसले कब्जा गरेको अहिलेसम्मकै ठूलो युक्रेनी शहर हो। करिब दुई हजार स्थानीय बासिन्दाले शहरमा प्रदर्शन गरेको हुन्। उनीहरुले युक्रेनी झण्डा फराउँदै राष्ट्रिय गान गाएर प्रदर्शन गरेका हुन्।
उनीहरुले ‘रसियन गो होम’, खेर्सन इज युक्रेन’ सहितका नारा लगाएका छन्। डिनिएपर नदी र ब्ल्याक सी को प्रमुख तटीय शहर खेर्सन यो हप्ताको सुरुमा रुसी सैनिकको कब्जामा गएको थियो।
सामाजिक सञ्जालमा साझा गरिएको प्रदर्शनको भिडियोमा रुसी सैनिकहरुले स्थानीय बासिन्दाहरुलाई तितरवितर पार्नका लागि हावामा गोली चलाएको देखिन्छ।
स्थानीय बासिन्दाले फ्रिडम स्क्वायर र इन्डिपेन्डेन्ट स्क्वायर हुँदै प्रदर्शन गरेको बताएका बिबिसीले उल्लेख गरेको छ। खेर्सनमा अझै पनि युद्ध जारी छ। युक्रेनी सैनिकले शहर पुनः आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको दाबी छ।
युक्रेनमा रुसले आक्रमण गरेको ११ औँ दिन लागेको छ। गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि गरेको युद्धको निशानामा सर्वसाधारण नागरिक आएका छन्।
विश्वव्यापी रुपमा अधिकांश देशले विरोध गर्दा पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण रोकेका छैन। युक्रेनी सैनिक र सर्वसाधारणले रुसी आक्रमणकारीलाई लगातार रोकिरहेका छन्। उनीहरुलाई साथ दिनका लागि विभिन्न देशबाट स्वयम्सेवीरुपमा युक्रेनी युद्ध लड्न युवाहरु गएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation