काठमाडौं- स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि एक लाख म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ। अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै प्रहरी प्रधान कार्यालयले चैत पहिलो साता म्यादी प्रहरीको भर्नाका लागि दरखास्त आह्वान गर्ने भएको हो।
२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना लिने भएको छ। म्यादी प्रहरीले जवान सरह तलव र रासन बापत थप ७ हजार पाउने भएका छन्।
म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्विकृत हुन बाँकी छ। सो मापदण्ड स्विकृत भएपछि दरखास्त लिएर चैत २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ। म्यादी प्रहरी २०७९ वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन्।
चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन्। रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ। उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन्। दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ। रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ।
एक लाख म्यादी प्रहरीका लागि करिब साढे चार अर्ब खर्च हुन्छ। एक साताको तालिम चलाउन एक करोड ५४ लाख खर्च हुने आकलन गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation