संखुवासभा- संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही १ लाख दिने भएको छ। गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही १ लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए।
यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार उपलब्ध गराउने निर्णय पिन गरेको छ । त्यस्तै मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक बनाउने निर्णय भएको लिङथेपले जानकारी दिए । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाइ छ। मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नं को बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।
बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको लिङथेपले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation