काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिकोणत्मक सिरिजमा नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गर्दैछ। नेपालले आजको खेलमा दुई जना खेलाडी परिवर्तन गरेको छ। ज्ञानेन्द्र मल्ल र विक्रम सोब आज प्लेइङ ११ मा परेका छैनन्। सोमबार यूएईविरुद्ध नखेलेका आसिफ शेख आज खेल्दैछन्।
यस्तै भीम सार्कीले आज डेब्यु गरेका छन्। यसै शृङखलाको पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई २ विकेटले पराजित गरेको थियो।
त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्यो। पपुवान्यूगिनीले भने यूएईलाई हराएर लिग २ मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ। यस शृङखलामा नेपालको ब्याटिङ निकै कम्जोर बनेको छ।
पछिल्ला दुई खेलमा नेपाल यूएईविरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो। नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ। अहिले नेपाल लिग तालिकाको छैटौं स्थानमा छ।
नेपालले ११ खेलमा १० अंक मात्र बनाएको छ। आजको खेलमा जित निकाले पनि नेपालको स्थान भने परिवर्तन हुँदैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation