काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन्। प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए।
उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए। ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन्। एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने। उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए। एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे।
‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला। नेपालमा किन रेल कुदायौँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’
उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ। उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दाबी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation