काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि माग गरिएको एक लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको हो। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम दिनसम्म दुई लाख ९३ हजार ३१२ जनाले आवेदन दिएका हुन्।
सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयमार्फत निवेदन दिन सक्ने व्यवस्थासहित चैत ६ देखि ११ गतेसम्मका लागि म्यादी प्रहरीमा भर्ना खोलिएको थियो।
प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा मधेश प्रदेशको जनकपुरमा सबैभन्दा बढी ६८ हजार छ जनाको आवेदन परेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५६०, प्रदेश १ मा ५० हजार ९४४, सुदूरपश्चिम प्रदेशमा २९ हजार ७१४, बागमती प्रदेशमा २६ हजार ८३४, गण्डकीमा २५ हजार ५० र सबैभन्दा कम उपत्यकामा १३ हजार ९५० आवेदन परेको छ।
प्रदेश १ मा १७ हजार ८३१, मधेस प्रदेशमा २१ हजार ६९८, बाग्मती प्रदेशमा १९ हजार ३६३, गण्डकी प्रदेशमा १० हजार ६२५, लुम्बिनीमा १६ हजार ९८, कर्णालीमा सात हजार ७१३ र सुदूरपश्चिममा नौ हजार ९३७ र काठमाडौं उपत्यकामा चार हजार ७३५ म्यादी प्रहरीमा माग गरिएको थियो ।
मनाङमा मागभन्दा आवेदन दिने कम
मनाङमा भने मागभन्दा कमले आवेदन दिएका छन्। आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन्। प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ।
उनले भने, 'माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ।' नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ। म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन तथा चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ।
भर्ना खुल्ला गरिएको पहिलो दिनदेखि नै आवेदन दिनेको भीड लागेको थियो। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत् आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो। म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने तयारी छ।
सुरक्षा क्षेत्रमा काम गरेकालाई प्राथमिकता
भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान-निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश-उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी प्रहरीको छनोटमा प्राथमिकता दिइने छ।
यसका लागि ४० दिनको कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट तीस हजार २४०, पोसाक बापत छ हजार, रासन बापत एकमुष्ट सात हजार २०० र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादी प्रहरीको सुविधा निर्धारण गरिएको छ।
म्यादी प्रहरीलाई बीमालगायतको सुविधा छ। नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको हो। आवेदन दिनेले फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिक हुनुपर्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation