८ कार्तिक २०८३, शनिबार

नेपाल बारमा घिमिरे नेतृत्वको गठबन्धन अगाडि

  • २३ चैत २०७८, बुधबार
Image

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले अग्रता लिएको छ।

२६औँ केन्द्रीय कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूह प्रतिस्पर्धामा छन्। बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व घिमिरेले गरेका छन्।

यस्तै प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गरेका छन्। मंगलबारदेखि सुरु भएको मतगणनामा घिमिरे नेतृत्वको प्यानलले सुरुवाती अग्रता लिएको हो।

बार निर्वाचन समितिका अनुसार मंगलबार एक हजार दुई सय ४६ मतगणना हुँदा अध्यक्षमा घिमिरेले सात सय ७७ मत र  महासचिवतर्फ अन्जिता खनालले ६ सय ९७ मत प्राप्त गरेका छन्।

त्यस्तै, प्रगतिशीलतर्फ अध्यक्षमा अधिकारीले तीन सय ७२ र महासचिवमा केदार कोइरालाले चार सय ४३ मत प्राप्त गरेका छन्। शनिबार सम्पन्न मतदानको मंगलबारबाट मतगणना सुरु भएको हो।

निर्वाचनका क्रममा काठमाडौं केन्द्रसहित देशका अन्य ३४ स्थानबाट मतदानको व्यवस्था गरिएको थियो। सबै मतपेटिका काठमाडौं ल्याइसकिएपछि मतगणना सुरु भएको  प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी  दिइन्।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात सय आठ अधिवक्ता मतदाता सहभागी भएका थिए। निर्वाचनमा सात हजार चार सय २९ मत खसेको निर्वाचन समितिले जनाएको छ। अन्तिम तम परिणाम आउन केही दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर