विराटनगर- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आपसी तिक्ततालाई बिर्सेर नेता, कार्यकर्ता एक हुने हो भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गरिरहन जरुरी नभएको बताएका छन्।
महाधिवेशनको आपसी तिक्तता सबैले बिर्सँदै एक भएर चुनावमा होमियौ,’ मोरङ कांग्रेसले बिहीबार विराटनगरमा गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा कोइरालाले भने, 'कांग्रेसी एक हुने हो भने कसैले हराउन सक्तैन र गठबन्धनको पनि आवश्यक पर्दैन।’
केन्द्रीय समितिले निर्णय नगरेसम्म पार्टीका नेता, कार्यकर्ताको सोचाई फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै कोइरालाले आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने भनिए पनि जिल्ला र क्षेत्रलाई दबाब नदिए तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुने दाबी गरे।
उनले आगामी स्थानीय निर्वाचनमा उम्मेदवारले गर्न सकिने काममा आधारित घोषणापत्र बनाउन निर्देशन दिए। भ्रामक घोषणापत्र बनाएर जनता भुल्याउने काम नगर्न उनको आग्रह थियो।
केन्द्रीय सदस्य महेश आचार्यले संघीयता कम्युनिस्टको हातमा सुरक्षित नभएको आरोप लगाउदै साढे तीन वर्ष कम्युनिष्टले सरकार चलाउँदा मुलुक अहिलेको अवस्थामा गुज्रिएको दाबी गरे।
एमाले सरकारले महिला हिंसा र बलात्कार नियन्त्रण गर्ने कानुन बनाएन र अहिले पनि संसद् चल्न नदिएर कानुन बनाउन नपाउँदा महिला हिंसा र बलात्कारका घटना मुलुकभरी बढेको आचार्यको भनाइ थियो।
आगामी निर्वाचनमा कांग्रेस कोसँग जोडिएर जनतासामु जाने भन्ने कुरा गौण भएको उल्लेख गर्दै अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले कांग्रेस आफ्नै सिद्धान्त बोकेर निर्वाचनमा जनतासामु जानुपर्ने धारणा राखे।
रिजालले गठबन्धन कांग्रेसलाई नभई सत्ता सहकर्मीहरुलाई चाहिएको बताए। केन्द्रीय सदस्यहरु अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीले पनि पार्टीको १४ औं महाधिवेशनले सिर्जना गरेको आपसी तुषलाई बिर्सिएर कांग्रेसजन एक भए आगामी तीनै तहका निर्वाचनमा जित निश्चित भएको दाबी गरे।
यसअघि प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की, कांग्रेस प्रदेश उपसभापति रमेशजंग रायमाझी र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले चुनावी तालमेलका विषयमा मञ्चमै जुहारी खेलका थिए।
कोइराला समूहका कार्की र घिमिरेले चुनावी तालमेलको विरोध गर्दा देउवा समूहका रायमाझीले तालमेलको बचाउ गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation