काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने प्रचण्डकी छोरी रेणु दाहाललाई हराउनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेल गरेका छन्।
कांग्रेस-माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्ने योजनासहित ओलीले राजावादीको साथ खोजेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला चितवनको भरतपुरमा कांग्रेसको साथ लिएर माओवादी केन्द्रकी रेणु दाहाल दोहोरिन तयार भएको अवस्थामा विपक्षीको मोर्चाबन्दी बनेको हो।
आइतवार पटक पटक भएका वार्ताले निचोड दिन सकेको थिएन। तर आइतवार राति पनि भएको वार्तापछि तालमेलमा सहमति जुटेको हो। भरतपुरको मेयरमा एमालेले बागमती प्रदेश सांसद विजय सुवेदीलाई मैदानमा उतारिसकेको छ। उनले प्रदेश सदस्यबाट राजीनामा दिएर चुनावी अभियान थालिसकेका छन्।
यो तालमेल सहमतिपछि अब राप्रपाले एमाले उम्मेदवार सुवेदीलाई मतदान गर्न आह्वान गर्नेछ। उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने भएको छ। उपमेयरमा एामलेले राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका ज्ञवालीकै प्रस्ताव र सांसद कृष्णप्रसाद पोखरेलको समर्थनमा सुवेदी अहिले चुनावी मैदानमा छन्। ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा अनेक विवाद र मतपत्र च्यातिएपछि भएको उपनिर्वाचनमा रेणु दाहालसँग पराजित भएका थिए।
दुई दलबीचको सहमतिबमोजिम राप्रपाले महानगरपालिका वडा नं. १५ र २६ को वडाध्यक्षको टिकट लिनेछ। त्यस्तै वडा नम्बर ४,११, १६,१९ र २४ मा दुवै दलबाट वडाध्यक्ष उम्मेदवार उठाएर मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ।
अन्य वडामा एमालेका वडाध्यक्षसहितका सदस्य उठ्नेछन्। त्यस्तै अन्य वडामा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य उठाइने भएको छ।
एमालेले केन्द्रीमा भने कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र क्रिश्चियानीटीको प्रचारक एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग तालमेल गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation