८ कार्तिक २०८३, शनिबार

भरतपुरका 'बागी' उम्मेदवार फकाउन चितवन पुगे गृहमन्त्री खाण

  • १४ वैशाख २०७९, बुधबार
Image

चितवन- नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण चितवनको भरतपुर पुगेका छन्। भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र (बागी) उम्मेदवारी दिएपछि उम्मेदवारी फिर्ता लिने विषयमा 'पहल गर्न' गृहमन्त्री खाण त्यहाँ पुगेका हुन् । उनले कांग्रेसका असन्तुष्ट पक्षसँग छलफल गर्ने भएका छन्। सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन्।

खाणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन्। त्यसपछि मेयरमा बागी उम्मेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर-७ स्थित पिपल चोक जाने छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताए । असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन।

गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’,उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे । ‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ।

नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ । सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने। चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्छौँ’,उनले भने ।

बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने उनले बताए। स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनेमा आफु विश्वस्त रहेको उनले बताए।   


प्रतिक्रिया

सम्बन्धित खवर