काठमाडौं- नेपाली कांग्रेसले गरेको उम्मेदवारी छनोटमा असन्तुष्ट रहेका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बुधबार पदबाट राजीनामा दिएका छन्। यद्यपि राजीनामा पत्रमा भने मेयर पराजुलीले ‘नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका छन्।
उनले भने, 'निर्वाचन कार्यक्रम सुरू भइसकेको अवस्थामा मेयरको जिम्मेवारीमा रहिरहनु उचित नहुने भएकाले नैतिकताका आधारमा राजीनामा दिएको छु।'
उनले मुख्य कारण नैतिकता बताए पनि टिकट वितरणको असन्तोषका कारण कार्यकाल बाँकी रहँदै पद छाडेका बताइएको छ।
मेयर पराजुली यसपटक पनि मेयर पदका दाबेदार थिए। उनी दोस्रोपटक उही जिम्मेवारी दोहोर्याउनकै लागि टिकटको दौडमा थिए। तर, कांग्रेस केन्द्रले महानगरको उम्मेदवार टुंग्याउँदा उनी सूचीमा परेनन्।
गठबन्धनमा भागबण्डा गर्दा कांग्रेसकै भागमा परेको विराटनगरमा नागेश कोइरालाले मेयरको टिकट पाए। पार्टीले आफूलाई टिकट नदिएर अन्याय गरेको उनले बताउँदै आएका थिए। टिकटको दौडका लागि काठमाडौंमा रहेका उनले बुधबार विराटनगर आउनासाथ राजीनामा दिएका हुन्।
२०७४ को स्थानीय निर्वाचनमा पार्टीका केन्द्रीय सदस्यहरू तथा आफूभन्दा सिनियर नेताहरूलाई पछि पार्दै पराजुलीले टिकट हात पारेका थिए। त्यसबेला कोइराला समूहमा रहेका पराजुलीलाई टिकट दिलाउन डा. शेखर कोइरालाले ठूलो पहल गरेका थिए। तर, पछिल्लो महाधिवेशनमा उनी शेखर समूह छाडेर संस्थापन समूहमा प्रवेश गरेर पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
कृष्णप्रसाद सिटौलानिकट भनेर पनि चिनिएका उनलाई यसपटक टिकट दिलाउन सिटौलाले कांग्रेस केन्द्रमा भूमिका गरेका थिए। तर, डा. कोइरालाको गृहनगर समेत रहेको विराटनगरमा कोइराला पक्षकै मोरङ उपसभापति नागेश कोइरालाले टिकट हात पारे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation